४ बैसाख,काठमाण्डाैं । इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको अवधिभर विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग ‘होर्मुज जलघाँटी’ पूर्ण रूपमा खुला रहने घोषणा गर्नुभएको छ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै उहाँले आगामी अप्रिल २२ सम्म कायम रहने १० दिने युद्धविराम अवधिमा सबै व्यावसायिक जहाजहरूलाई इरानी बन्दरगाह तथा समुद्री संगठनले तोकेको समन्वित मार्गअनुसार निर्वाध आवतजावत गर्न अनुमति दिइएको बताउनुभयो।
यसअघि फेब्रुअरीमा अमेरिका र इजरायलको आक्रमणको प्रतिवाद स्वरूप इरानले यो जलमार्ग बन्द गर्दा विश्वव्यापी इन्धन आपूर्तिमा ठूलो संकट पैदा भएको थियो।
इरान र अमेरिकाबीच भएको यो दुई हप्ताको युद्धविराममा लेबनानलाई समावेश गर्ने विषयमा इजरायल र अमेरिकाको फरक मत रहे पनि, इरान र मध्यस्थकर्ता पाकिस्तानले लेबनानसहितको क्षेत्रीय शान्तिमा जोड दिँदै आएका छन् र यो पछिल्लो कदमले विश्वभरको इन्धन संकट समाधानमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
