२ चैत,काठमाण्डाैं । काठमाडौंको नागार्जुन नगरपालिका-८, भिमढुङ्गाबाट हुण्डी तथा क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगद र अन्य महत्वपूर्ण प्रमाणसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र सोही उमेरका प्रमोद प्रसाद धिताल रहेका छन्। उनीहरूको साथबाट नगदका अतिरिक्त विभिन्न व्यक्तिका नाममा रहेका ३ थान चेक बुक, २७ लाख ३० हजार रुपैयाँ बराबरका ३ वटा काटिएका चेक, र विभिन्न बैंकका ४ वटा एटीएम कार्ड बरामद गरिएको छ।
प्रहरीले घटनास्थलबाट १ थान नागरिकता, २ वटा चारपाङ्ग्रे र १ वटा दुईपाङ्ग्रे सवारी साधन, सवारी दर्ता किताब, ६ थान मोबाइल फोन, ३१ थान एनसेल तथा एनटीसीका सिमकार्ड र एउटा कम्प्युटर समेत जफत गरेको छ।
साथै, उनीहरूको बाइनान्स खातामा रहेको ७ हजार १ सय ७५ दशमलव ३४ यूएसडीटी (USDT) समेत फेला परेको प्रहरीले जनाएको छ।
