ईर्साद अन्सारी
२ चैत,काठमाण्डमैं । अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र अमेरिका–इजरायल–इरान तनावका कारण सिर्जित विषम परिस्थितिलाई मुख्य कारण देखाउँदै नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमको नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा १० रुपैयाँ वृद्धि गरिएको छ, जसअनुसार अब तेस्रो वर्गको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ र डिजल–मट्टीतेलको १५२ रुपैयाँ पुगेको छ भने दोस्रो वर्गका दाङ र सुर्खेतमा पेट्रोल १७१ र डिजल–मट्टीतेल १५१ रुपैयाँ कायम भएको छ।
त्यसैगरी, पहिलो वर्ग अन्तर्गतका तराईका विभिन्न सहरहरूमा पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेल १४९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।
निगमले एक विज्ञप्ति जारी गर्दै बाध्यतावश मूल्य वृद्धि गर्नुपरेको उल्लेख गर्दै यसबाट उपभोक्तामा पर्न जाने असरप्रति आफूहरू संवेदनशील रहेको र परिस्थितिको बाध्यतालाई बुझिदिन आग्रह समेत गरेको छ।
