दाउन्नेमा पाँच सवारीसाधन एकापसमा ठोक्किँदा ९ घाइते, राजमार्ग अवरुद्ध

छानबिन न्यूज
पाठक संख्या 89
1 Min Read

इर्साद अन्सारी

२७ फागुन,नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित घिउखोला नजिक मंगलबार राति साढे एक बजे पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिल पण्डितका अनुसार सुनवलबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बरको यूपी २१ पीटी २७९१ नम्बरको कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा सुरुमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ११९२ नम्बरको बसलाई ठक्कर दिएको थियो ।

जसको सिलसिलामा अन्य तीन सवारीसाधनहरू कर्णाली प्रदेश ००२ प ९५७० नम्बरको मोटरसाइकल, लुम्बिनी प्रदेश ०१–००१ ख ०८२२ नम्बरको बस र लु २ ख २४७५ नम्बरको बस समेत एकापसमा ठोक्किन पुगेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक अमर कार्की, पछाडि सवार महेन्द्र महतारासहित विभिन्न जिल्लाका ९ जना घाइते भएका छन्, जसको चितवन र मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनापश्चात फरार रहेका कन्टेनर चालकको खोजी र अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
शेयर