१७ फागुन,काठमाण्डाैं । मध्यपूर्वमा बढ्दो तनावका कारण विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकहरूलाई तत्कालका लागि ‘जहाँ छन् त्यहीँ’ सुरक्षाका साथ राख्ने प्रबन्ध मिलाइएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय विमानस्थलहरू बन्द भएका कारण यात्रुहरूलाई तत्काल फर्काउन वा गन्तव्यतर्फ पठाउन नसकिने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री बालानन्द शर्माका अनुसार, ट्रान्जिटमा रोकिएका नेपालीहरूको अवस्थाबारे सम्बन्धित देशका राजदूतहरूमार्फत निरन्तर सम्पर्क भइरहेको छ भने उनीहरूको खानपान र आवासको व्यवस्था सम्बन्धित रोजगारदाता कम्पनी वा एयरलाइन्सले नै व्यहोर्ने गरी समन्वय गरिएको छ ।
हालसम्म नेपाली नागरिकहरू स्वास्थ्य र सुरक्षाका हिसाबले सुरक्षित रहेको जानकारी दिँदै मन्त्री शर्माले नेपाल भित्रै रहेका विदेशी कामदार वा यात्रुहरूको समस्या समाधानका लागि श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयले सहकार्य गरिरहेको समेत स्पष्ट पारे ।
