१६ फागुन,बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्व संविधान सभा सदस्य तथा राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन्।
पहाडीसँगै नेकपा रूपन्देहीका सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतमलाई पनि एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र नेता लिला गिरीले पार्टीमा स्वागत गरे।
२०७९ को निर्वाचनमा रूपन्देही ५ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका पहाडीले राष्ट्रियताका सवालमा एमालेको दृढ अडानलाई मुख्य आधार मान्दै आफू यस पार्टीमा फर्किएको बताएका छन्।
उनले एमालेमाथि भइरहेको घेराबन्दीलाई लोकतन्त्र र गणतन्त्रमाथिकै आक्रमणको संज्ञा दिए। सो अवसरमा उपाध्यक्ष पौडेलले देशलाई वर्तमान संकटबाट निकास दिन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्न एमालेको जित अनिवार्य रहेको उल्लेख गरे।
