रास्वपाका मकवानपुर सभापति भरत पराजुलीद्वारा पार्टी परित्याग : ‘चाकरीवाद र व्यक्तिवादी प्रवृत्तिको दबदबा भयाे

छानबिन न्यूज
पाठक संख्या 120
1 Min Read

११ फागुन,काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको संघारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टीको नेतृत्व तहमा चाकरीवाद र व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै पार्टीबाट अलग हुने घोषणा गरेका छन्।

विगत ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका पराजुली २०७९ साउनदेखि रास्वपामा आबद्ध भई संगठन निर्माणमा लागेका थिए भने सोही वर्षको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट १२ हजारभन्दा बढी मत प्राप्त गरी जनविश्वास बटुलेका थिए।

हालै सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गर्दै उनले पार्टीभित्र हुर्किँदै गएको आलोचनालाई अस्वीकार गर्ने संस्कार, आन्तरिक लोकतन्त्रको क्षयीकरण र आर्थिक प्रभावका आधारमा व्यक्ति व्यवस्थापन गर्ने शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

स्थापनाकालदेखि नै भूईँमान्छेको सेवकका रूपमा समर्पित रहने उद्देश्यका साथ पार्टीमा लागे पनि नेतृत्वको मूल्याङ्कन गर्ने शैली र व्यवहारका कारण इमानदार कार्यकर्ताको कदर नहुने सम्भावना देखिएकाले आफू र आफ्ना हितैषीहरूको संरक्षणका निम्ति पार्टी त्याग्नुपरेको उनले स्पष्ट पारेका छन्।

प्रतिक्रिया
शेयर