पोखरिया नगरपालिकामा अख्तियारको छापा: मेयरको घरमै जिन्सी सामग्री भेटिएको आशङ्का

छानबिन न्यूज
पाठक संख्या 142
1 Min Read

१० चैत,पर्सा । पर्साको पोखरिया नगरपालिकामा व्याप्त बेथिति र अनियमिततासम्बन्धी उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले मङ्गलवार छापा मारेको छ।

छापा मार्ने क्रममा टोलीले नगरपालिकाको जिन्सी शाखामा विशेष जाँचबुझ गरी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ, जसमा अधिकांश कागजात बिल भुक्तानीसँग मात्र सम्बन्धित रहेको पाइएको छ।

उदेकलाग्दो कुरा त के छ भने, नियमानुसार जिन्सी शाखामा अभिलेखित हुनुपर्ने कतिपय सरकारी सामग्रीहरू कार्यालयमा नभई नगरप्रमुख प्रद्युम्न चौहान र केही कर्मचारीको घरमै फेला परेको स्रोतले दाबी गरेको छ।

स्थानीयवासीले केही दिनअघि मात्रै नगरपालिकामा अनियमितता बढेको भन्दै विरोध प्रदर्शन गरेका थिए भने हाल अख्तियारले आवश्यक नापजाँच र कागजात सुरक्षित गर्दै घटनाको गम्भीर अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
शेयर