बंगलादेश निर्वाचन: नयाँ नेतृत्वका लागि मतदान, तारिक रहमान र नाहिद इस्लामबीच कडा प्रतिस्पर्धा

छानबिन न्यूज
पाठक संख्या 98
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२९ माघ,काठमाण्डाैं ।  ​बंगलादेशमा आज नयाँ सरकार चयनका लागि आम निर्वाचनअन्तर्गत उत्साहजनक रूपमा मतदान भइरहेको छ, जहाँ ५१ राजनीतिक दलका कुल १,९८१ उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

देशभरका करिब १२ करोड ७० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गरिरहेको यस चुनावमा ४५ लाख ७० हजारभन्दा बढी युवाहरूले पहिलोपटक मतदान गर्दैछन्।

निर्वाचनमा विशेषगरी पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्ताको प्रमुख दाबेदार देखिएको छ भने जमात-ए-इस्लामीका शिफुकुर रहमान र नेशनल सिटीजन पार्टी (एनसीपी) का नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका बलिया आकांक्षीका रूपमा चर्चामा छन्।

निर्वाचनलाई स्वच्छ र धाँधलीरहित बनाउन गृह सल्लाहकार मोहम्मद जहाँगीर आलम चौधरीले मतपेटिका खोस्ने वा नक्कली मतदान गर्ने जोकोहीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ।

साँझ ४:३० बजेसम्म जारी रहने मतदान सकिएलगत्तै आजै साँझबाट मतगणना सुरु हुने र भोलि बिहानसम्ममा अन्तिम नतिजा सार्वजनिक हुने तालिका रहेको छ।

प्रतिक्रिया
शेयर