जित-हार बिर्सेर चुनावी मैदानमा उत्रिन कांग्रेसको आह्वान, देउवा पक्षलाई समेट्ने प्रयास

छानबिन न्यूज
पाठक संख्या 175
1 Min Read
Oplus_16908288

१३ माघ,काठमाण्डाैं ।  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई विशेष परिपत्र जारी गरेको छ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी उक्त परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका र प्रक्रियाप्रति सहमत वा असहमत सबै पक्षलाई जित-हारको भावना त्यागेर पार्टीको विधि-विधान अनुरूप चुनावी अभियानमा केन्द्रित हुन आह्वान गरिएको छ।

हालै सम्पन्न विशेष महाधिवेशन र गगन थापाको चयनलाई शेरबहादुर देउवा समूहले पूर्ण रूपमा स्वीकार गरिनसकेको वर्तमान जटिल राजनीतिक परिस्थितिमा, पार्टीलाई अगाडि बढाउन निवर्तमान सभापति देउवा लगायत सबै तहका नेताहरूको पूर्ण साथ रहने विश्वास समेत व्यक्त गरिएको छ।

विगतका कमजोरीहरूको समीक्षा र आत्मालोचना गर्दै कांग्रेस अब समयको पदचाप अनुसार बदलिने संकल्पका साथ संस्थागत रूपमा अघि बढ्ने उद्घोष समाचारमा गरिएको छ।

प्रतिक्रिया
शेयर