फागुन २१ को निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै

छानबिन न्यूज
पाठक संख्या 151
1 Min Read
Oplus_16908288

६ माघ,काठमाडौं । विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको ‘जेनजी’ आन्दोलनका कारण विघटन भएपछि आगामी फागुन २१ गते हुने नयाँ निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।

निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी मनोनयनका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको छ ।

उम्मेदवारी दर्ताका लागि नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ ।

भीडभाड कम गर्न आयोगले राजनीतिक दलहरूका लागि छुट्टाछुट्टै समय निर्धारण गर्दै तडकभडक नगरी शान्त र मर्यादित रूपमा सहभागी हुन आग्रह गरेको छ ।

​अधिकांश राजनीतिक दलहरूले उम्मेदवारको टुङ्गो लगाइसकेका छन्, जसमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतले आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन् भने नेपाली कांग्रेसले केही क्षेत्रमा छनोट प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सदस्य चयन हुने संवैधानिक व्यवस्था छ, जसअन्तर्गत समानुपातिकतर्फको अन्तिम सूची आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

भदौको आन्दोलनपछि गठित अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन-स्रोत उपलब्ध गराएको छ भने सुरक्षाका लागि ‘निर्वाचन प्रहरी’ छनोटको प्रक्रियासमेत अघि बढिसकेको छ । आज देशभर उत्साहपूर्वक रूपमा मनोनयन दर्ता हुने विश्वास आयोगले व्यक्त गरेको छ ।

प्रतिक्रिया
शेयर