२६ पुस,बारा । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा यतिबेला बारा जिल्ला ‘रुपान्तरण र यथास्थिति’ बीचको द्वन्द्वको मुख्य केन्द्रविन्दु बनेको छ । जहाँ संस्थापन पक्षको कडा निर्देशन र जिल्ला नेतृत्वको ‘ह्वीप’ लाई लत्याउँदै बहुमत महाधिवेशन प्रतिनिधिहरू पार्टीको विशेष महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गरेका छन्।
१०४ महाधिवेशन प्रतिनिधि रहेको बाराबाट ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरू नेतृत्व परिवर्तनको पक्षमा खुल्नुले मधेस प्रदेशमा संस्थापन पक्षको पकड खस्किएको मात्र देखाउँदैन, बरु महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अगाडि सारेको पार्टी सुदृढीकरण र नीतिगत स्पष्टताको एजेन्डाले तल्लो तहसम्म गहिरो प्रभाव पारेको स्पष्ट पार्छ।
जिल्ला सभापति राजेश राय यादवले विशेष महाधिवेशनलाई अवैधानिक करार गर्दै सहभागी नहुन जारी गरेको विज्ञप्ति र विभिन्न माध्यमबाट दिएको दबाबका बाबजुद जिल्ला सचिव राजेश रौनियारको नेतृत्वमा ठूलो संख्यामा प्रतिनिधिहरू कलैयामा भेला भई काठमाडौँका लागि प्रस्थान गर्नुले कांग्रेसभित्र अब आदेशको राजनीति भन्दा एजेन्डाको राजनीति हाबी हुन थालेको संकेत गर्दछ।
यसरी संस्थापन पक्षले महाधिवेशन बहिष्कार गर्न गरेको आह्वानका बीच पनि गगन र विश्वप्रकाशको “अडान” र पार्टीलाई नयाँ ढंगले हिँडाउनु पर्ने “हठ” मा मधेशका प्रतिनिधिहरूले बलियो ऐक्यबद्धता जनाउनुले आगामी दिनमा कांग्रेसको शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउने निश्चित छ।
एकातिर नेतृत्वले अनुशासनको डण्डा देखाएर प्रतिनिधिहरूलाई रोक्न खोज्नु र अर्कोतिर पार्टीलाई जीवन्त राख्न नेतृत्व परिवर्तन अनिवार्य ठान्ने प्रतिनिधिहरूबीचको यो घम्साघम्सीले नेपाली कांग्रेस अब केवल एउटा निर्वाचन जित्ने मेसिन मात्र नभई, आन्तरिक लोकतन्त्र र वैचारिक मन्थनको जीवन्त थलो बन्न खोजिरहेको पुष्टि गर्दछ।
बाराबाट सुरु भएको यो लहरले आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनमा मधेशको भूमिकालाई निर्णायक बनाउने मात्र नभई, संस्थापन पक्षको परम्परागत विरासतलाई विस्थापन गर्दै नयाँ र जुझारु नेतृत्वका लागि मार्गप्रशस्त गर्ने राजनीतिक विश्लेषकहरूको ठहर छ।
