३२ असार,बारा । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली भाले हात्ती ‘ध्रुवे’ को आक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाइसकेको अवस्थामा थप जोखिम न्यूनीकरणका लागि निकुञ्ज प्रशासनले विशेष कदम चालेको छ।
गत असार २० गते राति भरतपुर महानगरपालिका–२३ बेलहटामा राति घरमै सुतिरहेको अवस्थामा ध्रुवेको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको दुःखद मृत्यु भएपछि निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना र स्थानीय तहसहितको टोलीले हात्तीको खोजी तथा निगरानी तीव्र बनाएको थियो।
यसै क्रममा साउन ३१ गते बेलुका निकुञ्जभित्र सुखीभार पोस्ट नजिक ध्रुवे फेला परेपछि विशेषज्ञ टोलीले सफलतापूर्क यसमा रेडियो कलर जडान गरेको छ।
यो प्रविधिमार्फत हात्तीको जिपिएस लोकेसन र गतिविधिको जानकारी छोटो-छोटो अन्तरालमै प्राप्त हुने भएकाले, हात्ती मानव बस्तीतर्फ आउनु अगावै पूर्वसूचना प्राप्त भई मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा निकुञ्जको वन्यजन्तु व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।


