कीर्तिपुरमा नेपालको कीर्तिमानी ब्याटिङ: अमेरिकालाई ३१८ रनको विशाल लक्ष्य

छानबिन न्यूज
पाठक संख्या 21
1 Min Read
Oplus_16908288

८ जेठ,काठमाण्डाैं ।  आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु मैदानमा नेपाली ब्याटरहरूले चौका र छक्काको वर्षा गर्दै इतिहास रचेका छन्, जहाँ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको विशाल योगफल तयार पारेको छ।

घरेलु दर्शकको अभूतपूर्व हुटिङ र ऊर्जाका बीच डा. ईशान पाण्डेले ८४ रनको सानदार र विष्फोटक इनिङ्स खेले भने ‘टाइगर’ दीपेन्द्र सिंह ऐरीले ५९ रनको आक्रामक अर्धशतक प्रहार गरेर टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

कप्तान रोहित पौडेल (४६), आसिफ शेख (४३), कुशल भुर्तेल (२९) र गुलशन झा (१५) को महत्वपूर्ण योगदान रहेको यस इनिङ्समा तीन नेपाली ब्याटर रनआउट हुनुका बावजुद नेपालले कीर्तिपुरको मैदानमा इतिहासकै सर्वाधिक ठूलो स्कोर (३१७ रन) खडा गर्न सफल भयो।

अमेरिकी बलर शुभम रन्जानेले ३ तथा मिलिन्द कुमार र रुशिल उगारकरले १–१ विकेट लिए पनि नेपाली ब्याटिङको आँधीलाई रोक्न सकेनन् र नेपालले ओमानविरुद्ध यसअघि बनाएको ३१० रनको रेकर्ड तोड्दै आफ्नो एकदिवसीय इतिहासकै दोस्रो ठूलो स्कोर खडा गरेर अमेरिकालाई ३१८ रनको चुनौतीपूर्ण एवं कीर्तिमानी लक्ष्य सुम्पेको छ।

प्रतिक्रिया
शेयर