देशभर २०औँ लोकतन्त्र दिवस भव्यताका साथ मनाइँदै

छानबिन न्यूज
पाठक संख्या 46
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

११ बैसाख,काठमाडौं । मुलुकभर आज २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ, जसअन्तर्गत प्रजातान्त्रिक र लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्लाई जनआन्दोलनको बलमा २०६३ वैशाख ११ गते पुनःस्थापना गरी कार्यकारी शक्ति जनतालाई सुम्पेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी) को संयुक्त आह्वानमा भएको १९ दिने जनआन्दोलनले निरङ्कुश राजतन्त्रलाई घुँडा टेकाएपछि विसं २०६३ वैशाख १५ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक बसेको थियो, जसले अन्ततः दुईवटा संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते ‘नेपालको संविधान’ जारी गर्दै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा डोर्‍यायो ।

हाल सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटकको निर्वाचन सम्पन्न भई सङ्घीयताको अभ्यास भइरहेको अवस्थामा राज्यका सेवा-सुविधा नागरिकको घरदैलोसम्म पुर्‍याउन र विपद् व्यवस्थापनमा समन्वयकारी भूमिका खेल्न यस व्यवस्थाले सकारात्मक नतिजा प्रदान गर्दै आएको छ, जसको जग यही वैशाख ११ को ऐतिहासिक विजयले नै बसालेको थियो ।

प्रतिक्रिया
शेयर