नक्कली लाइसेन्स प्रकरण: इन्सपेक्टरसहित चार प्रहरी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

छानबिन न्यूज
पाठक संख्या 259
1 Min Read

१५ फागुन,काठमाण्डाैं ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा संगठित रूपमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एक इन्सपेक्टरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बाँकेमा कार्यरत रहँदा यातायात कार्यालयका कर्मचारीहरूसँग मिलेर लिखित तथा ट्रायल परीक्षामा असफल भएका सेवाग्राहीलाई ‘पास’ गराइदिने प्रलोभनमा लाखौँ रुपैयाँ असुली गरेको अभियोगमा इलाका प्रहरी कार्यालय मालारानी, कैलालीमा कार्यरत इन्सपेक्टर पुष्करराज पन्त (बिगो रु. ४३ लाख १४ हजार), वरिष्ठ सई नन्द कुमार पोखरेल (बिगो रु. ४७ लाख ६६ हजार), वरिष्ठ सई प्रबिण आचार्य (बिगो रु. ४१ लाख ३७ हजार) र असई दमन बिक्रम सेन (बिगो रु. ३३ लाख ५४ हजार) विरुद्ध मुद्दा चलाइएको हो।

गत वर्ष पक्राउ परेका यातायात कर्मचारीहरूको मोबाइल फोनबाट प्राप्त च्याट, कल डिटेल र घुस लेनदेनको विस्तृत विवरणका आधारमा प्रहरी अधिकारीहरूको संलग्नता पुष्टि भएको दाबी गर्दै अख्तियारले यसअघि नै सहसचिव लोकबहादुर सुनार र उमेश ढुंगानासहित ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ।

पैसाको भरमा अयोग्य व्यक्तिलाई लाइसेन्स वितरण गर्ने यस्तो ‘सेटिङ’ले सडक सुरक्षामा गम्भीर जोखिम निम्त्याउनुका साथै कानून कार्यान्वयन गर्ने प्रहरी संगठनको छविमा समेत प्रश्न उठाएको छ।

प्रतिक्रिया
शेयर