बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन सम्पन्न: प्रेस स्वतन्त्रता र श्रम अधिकारका लागि १५ बुँदे घोषणापत्र जारी

छानबिन न्यूज
पाठक संख्या 23
2 Min Read
Oplus_16908288

२८ बैसाख,बारा ।  नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा बैशाख २६ देखि २८ गतेसम्म सञ्चालित ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन–२०८३’ ले प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र सञ्चार क्षेत्रको वृहत्तर संरक्षणका पक्षमा १५ बुँदे बुटवल घोषणापत्र जारी गर्दै समापन भएको छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल संयोजक तथा प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंलगायत सदस्य रहेको उपसमितिले तयार पारेको उक्त घोषणापत्रमार्फत सम्मेलनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, न्यूनतम पारिश्रमिकको सुनिश्चितता र सञ्चारगृहलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन कानुनी माग गरेको छ ।

विशेषगरी सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने हालैको निर्णयलाई प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष नियन्त्रण ठहर गर्दै सम्मेलनले उक्त निर्णय फिर्ता लिन र विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक एवं न्यायोचित बनाउन सरकारसँग आग्रह गरेको छ ।

यसका साथै, संघीयताको मर्मअनुसार प्रदेश र स्थानीय तहमा सञ्चार कानुन निर्माण गर्न, लुम्बिनी प्रदेशको सञ्चार समन्वय परिषद्लाई प्रभावकारी बनाउन, सामाजिक सञ्जालका भ्रामक सूचना निरुत्साहित गरी व्यावसायिक पत्रकारितालाई प्रोत्साहन गर्न र बुटवलमा सञ्चार संग्रहालय स्थापनाका लागि पहल गर्ने निर्णय समेत गरिएको छ ।

सम्मेलनले पत्रकारिताका अतिरिक्त सामाजिक उत्तरदायित्व वहन गर्दै भूमिहीन सुकुम्वासीको वैकल्पिक व्यवस्थापन गर्न र लुम्बिनी, जितगढी किल्ला एवं सिद्धबाबा जस्ता ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि विशेष योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया
शेयर