ईर्साद अन्सारी
९ माघ,काठमाण्डाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्दैछ।
आयोगको कार्यतालिकाअनुसार आज बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने दिउँसो १:०० देखि ३:०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसपश्चात् अपराह्न ४:०० देखि साँझ ७:०० बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। यही माघ ६ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३,४८६ जनाले मनोनयन दर्ता गराएका थिए, जसमा ३,०८९ पुरुष, ३९६ महिला र अन्य १ जना रहेका छन्।
२७५ सदस्यीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ।
