सङ्कटमा मानसिक स्वास्थ्य: रौतहटमा थप एक युवकद्वारा आत्मदाहको प्रयास, केही दिनमै चार घटनामा तीनको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 69
2 Min Read
Oplus_16908288

असार ३१, बारा । पछिल्लो समय मानसिक तनाव र डिप्रेसनका कारण आत्महत्या तथा आत्मदाहका घटनाहरू भयावह रूपमा बढ्दै गएका छन्, जसको पछिल्लो कडी स्वरूप रौतहटमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

गरुडा बजारको झाझ पुल नजिकै छाप्रे होटल सञ्चालन गरी तीन छोरा र परिवारको पालनपोषण गर्दै आएका सहनी केही समयदेखि गम्भीर मानसिक तनाव र डिप्रेसनको समस्याबाट गुज्रिरहेको स्थानियले बताएका छन ।

घटनालगत्तै परिवारले उनलाई स्थानीय बेटर नेपाल अस्पताल पुर्‍याएका थिए भने त्यहाँ प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ, जहाँ उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको बताइएको छ।

निराशाजनक परिस्थिति र सामाजिक-आर्थिक दबाबका कारण केही दिन भित्रै मात्र चार जनाले आत्महत्याको प्रयास गरेकोमा तीन जनाको दुःखद मृत्यु भइसकेको छ ।

जसअन्तर्गत गत शुक्रबार सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए र शरीरको ८५ प्रतिशत भाग जलेर नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएकाे थियाे ।

उनकाे उपचारकै क्रममा मंगलबार निधन भएको छ। यसरी लगातार घटिरहेका यी हृदयविदारक घटनाहरूले समाजमा मानसिक स्वास्थ्यप्रतिको सचेतना, बेलैमा परामर्श र राज्यको तर्फबाट प्रभावकारी कदम चाल्नुपर्ने टड्कारो आवश्यकतालाई उजागर गरेका छ ।

प्रतिक्रिया
शेयर