राजनीतिक परिवर्तन सत्ता फेरबदल मात्र नभई सामाजिक-आर्थिक असन्तोषको परिणाम : शंकर पोखरेल

छानबिन न्यूज
पाठक संख्या 43
1 Min Read

२५ असार,बारा ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन केवल सत्ता परिवर्तन नभएर आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न जनअसन्तोषको परिणाम भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक लामो टिप्पणी लेख्दै उनले पूर्वाधार विकास र वैदेशिक रोजगारीका कारण नेपालीहरूको जीवनस्तर उकासिए पनि सोही अनुरूप आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा समाजमा निराशा, आक्रोश, भ्रष्टाचार र तीव्र वैदेशिक पलायन बढेको उल्लेख गरेका छन्।

आम निर्वाचन २०८२ मा मूलधारका दलहरूका देशभक्ति र पूर्वाधारका एजेन्डाभन्दा सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाएका वैकल्पिक शक्तिहरूले जनमत आकर्षित गर्न सफल भएको उनको विश्लेषण छ।

पुराना दलहरूको विपक्षमा जनमत निर्माण गर्न र भदौ २३ र २४ का घटनाको जगमा भएको सत्ता परिवर्तनमा बाह्य भूराजनीतिक चलखेल समेत भएको दाबी गर्दै पोखरेलले लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको जगमा उभिएको नयाँ शक्ति दीर्घकालसम्म टिक्न नसक्ने ठोकुवा गरेका छन्।

साथै, वर्तमान सरकारले लोकतान्त्रिक प्रक्रिया छोडेर स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोप लगाउँदै उनले लामो लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अलोकतान्त्रिक अभ्यासलाई छिट्टै अस्वीकार गर्ने दाबी समेत गरेका छन्।

प्रतिक्रिया
शेयर