११ असार,बारा । सशस्त्र प्रहरीले पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ मिलचोकस्थित गम्भीर श्रेष्ठको घरमा ‘कर्डन एण्ड सर्च अप्रेशन’ सञ्चालन गरी ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
बिहीबार सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म हेडक्वाटर भीखमपुर र सुवर्णपुरबाट खटिएको ५४ जनाको संयुक्त टोलीले श्रेष्ठको घरमा छापा मार्दा भित्र लुकाएर राखिएको ११ वटा बोरामा कुल १५८ केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
गाँजा बरामद भएपछि घरधनी गम्भीर श्रेष्ठ फरार रहेको र उनकी पत्नी अस्मिता तामाङ श्रेष्ठलाई भने प्रहरीले खोजेका बखत कार्यालयमा उपस्थित हुने सर्तमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको जिम्मा जमानीमा छाडेको छ ।
बरामद गरिएको उक्त प्रतिबन्धित गाँजा आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ।
