५ असार,काठमाडौं । विशेष अदालतले यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत कमलराज गौतमलाई गैरकानूनी सम्पत्ति आर्जन (भ्रष्टाचार) मुद्दामा दोषी ठहर गरेको छ।
शुक्रबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। अदालतले गौतमलाई दोषी ठहर गर्दै १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ बिगो बमोजिमको रकम असुल उपर गर्ने निर्णय गरेको छ।
यसैगरी, अदालतले बिगो बमोजिम नै १ करोड ८ लाख १ हजार ८३८ रुपैयाँ जरिबाना र एक वर्ष कैद सजायको फैसला समेत सुनाएको छ।
साथै, सजायको फैसलासँगै अदालतले गौतमबाट ४ लाख ३२ हजार ७३ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन समेत आदेश दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जसमाथि सुनुवाइ गर्दै अदालतले यो अन्तिम फैसला गरेको हो।
