राज्यविरुद्धको कसुर मुद्दा: दुर्गा प्रसाईंलाई साधारण तारेखमा राख्न अदालतको फैसला

छानबिन न्यूज
पाठक संख्या 57
1 Min Read
Oplus_16908288

१२ जेठ,बारा । मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” का संयोजक दुर्गा प्रसाईंलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

विद्युतीय कारोबार तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दामा सोमबार ढिलो गरी अभियोग पत्र दर्ता भएपछि मंगलबार थुनछेक बहसपछि सुनुवाइ गर्दै इजलास नं. १ का न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जानकारी दिए ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदीको जाहेरीका आधारमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको थियो र उनलाई गत जेठ ४ गते राति वीरगंजको सिद्धार्थ दियालो होटलबाट पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वीरगंज आएका बेला पक्राउ परेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए, जसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेज गर्दै सरकारका नाममा आवश्यक आदेश जारी गरेको थियो ।

यसअघि सर्वोच्च अदालतले आइतबारसम्म प्रसाईंलाई धरौटी वा हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको भन्दै त्यसको कार्यान्वयन नभएको आरोपमा उनका समर्थकहरूले सोमबार पर्सा जिल्ला अदालत अगाडिको सडकमा प्रदर्शन गरेका थिए भने मंगलबार पनि उनीहरू अदालत आसपास क्षेत्रमा जम्मा भएका थिए ।

प्रतिक्रिया
शेयर