११ जेठ,बारा । जनआस्था साप्ताहिक तथा जनआस्था डटकममा प्रकाशित समाचारलाई हतियार बनाएर गृह मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि राज्य संयन्त्रको चरम दुरुपयोग गर्दै धरपकड, निरन्तर धम्की, सूक्ष्म निगरानी र मानसिक दबाब सिर्जना गरिएको प्रति प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले तीव्र आक्रोश व्यक्त गर्दै घोर भर्त्सना गरेका छन्।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा र प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीद्वारा छुट्टाछुट्टै जारी विज्ञप्तिमा, पत्रकार श्रेष्ठलाई लक्षित गरी समाचारको स्रोत खुलाउन बाध्य पार्ने कुत्सित प्रयास र योजनाबद्ध प्रतिशोधपूर्ण षड्यन्त्रलाई अलोकतान्त्रिक, निरंकुश र स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष एवं नाङ्गो प्रहार ठहर गरिएको छ।
स्वयं पत्रकार श्रेष्ठले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनको माग गरिरहँदा पनि उल्टै राज्य शक्तिको आडमा धम्की र दबाब बढाउनुले वर्तमान सरकारको फासिवादी चरित्र र न्याय प्रणालीको निष्पक्षतामाथि नै गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै विज्ञप्तिहरूमा पूर्ण प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने, पत्रकारलाई मानसिक यातना दिने र सञ्चारमाध्यममाथि अविश्वास पैदा गर्ने यस्ता घृणित हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिइएको छ।
यस फासिवादी कदमका विरुद्ध सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी र लोकतन्त्रप्रेमी शक्तिहरूलाई दृढतापूर्वक एकजुट हुन आह्वान गर्दै संगठनहरूले संविधानप्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्न, श्रमजीवी पत्रकारमाथिको अनावश्यक हस्तक्षेप रोक्न र यस सिंगो घटनाको स्वतन्त्र, निष्पक्ष तथा उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेका छन्।

