नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख हुँदै : सांसद अमरेशकुमार सिंह

छानबिन न्यूज
पाठक संख्या 75
2 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

७ जेठ,काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले संसद्लाई छलेर शासन सञ्चालन गर्ने र विधिको शासनलाई बेवास्ता गर्ने प्रवृत्तिले लोकतन्त्र कमजोर बन्दै गएको दाबी गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाएका छन्।

बुधबार हिमालयन टेलिभिजनमा प्रसारित एक अन्तर्वार्ताका क्रममा उनले नेपालमा ‘पुलिस स्टेट’ हाबी हुन खोजेको र पाकिस्तानमा जस्तै संसद्लाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ उन्मुख भइरहेको टिप्पणी गरे।

पछिल्लो समय पर्याप्त कानुनी आधारबिना व्यवसायीहरूलाई पक्राउ गर्ने र भोलिपल्टै रिहा गर्ने प्रवृत्तिले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको उल्लेख गर्दै उनले विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम हुँदा लगानीकर्तामा डर पैदा भएको र यही कारण नेपालको अर्बौं रुपैयाँ विदेश पलायन भइसकेको भनाइ राखे।

नेपालको राजनीतिक इतिहासमा दुई तिहाइ तथा बहुमतका सरकारहरू सफल हुन नसकेको उदाहरण दिँदै उनले सत्ताको उन्मादका कारण संविधान र लोकतान्त्रिक परम्परामाथि प्रहार भइरहेकाले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरे।

छिमेकी मुलुकसँगको सम्बन्धबारे बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालाभन्दा अहिले भारत र चीनसँगको भू–राजनीतिक सन्तुलन कमजोर भएको दाबी गर्नुका साथै मधेसका समस्याप्रति सरकार असंवेदनशील बनेको र मधेसबाट प्रतिनिधित्व गर्ने नेतृत्वले समेत सीमा क्षेत्रका जनताको पीडा बुझ्न नसकेको आरोप लगाए।

उचित विकल्प र व्यवस्थापनबिना सुकुमवासी बस्तीका संरचना भत्काउने सरकारी कदमको विरोध गर्दै सिंहले वर्तमान राजनीतिक अन्योल र संवैधानिक संकटका कारण आगामी स्थानीय तह निर्वाचनसम्म अहिलेको संविधान कायम रहन्छ कि रहँदैन भन्नेमा समेत गम्भीर आशंका व्यक्त गरे।

प्रतिक्रिया
शेयर