प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय छैन: सञ्चारमन्त्री

छानबिन न्यूज
पाठक संख्या 14
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

६ जेठ,काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेसलाई नियन्त्रित गर्ने सरकारको कुनै मनसाय नरहेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयसँग सम्बन्धित उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. तिमल्सिनाले सरकारको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताका विषयमा आएका सुझाव र प्रश्नलाई मनन् गर्ने विश्वास दिलाए।

प्रेस स्वतन्त्रताको अधिकार संविधानले नै दिएको उल्लेख गर्दै उनले आज, भोलि र पर्सि कसैले पनि यो अधिकार कुण्ठित गर्न नसक्ने तर प्रेस स्वतन्त्रता स्वच्छन्दता भने हुन नहुने प्रस्ट पारे।

प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्नेमा जोड दिँदै उनले अगाडि थपे, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर पनि केही गर्न सक्दैन, त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।” साथै, उनले प्रेस काउन्सिल नेपाल र चलचित्र सेन्सर बोर्डलाई सक्षम बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत जानकारी दिए।

प्रतिक्रिया
शेयर