सिम्रौनगढ नगरपालिकामा प्रशासनिक बेथिति: १५ दिन बितिसक्दा पनि नयाँ प्रशासकीय अधिकृत अनुपस्थित

छानबिन न्यूज
पाठक संख्या 149
2 Min Read

१९ बैसाख,बारा । बाराको सिम्रौनगढ नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रक्षा मन्त्रालयबाट उपसचिव नवराज अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरी पठाएको १५ दिन बितिसक्दा पनि उनी हाजिर नहुँदा पालिकाको प्रशासनिक अन्योल थप गहिरिएको छ।

भ्रष्टाचार र अनियमितताको आरोप खेपिरहेको यस नगरपालिकामा विगत चार महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेराले कार्यभार सम्हाल्दै आए पनि स्थानीयले सुशासन र सेवा पारदर्शिताको महसुस गर्न पाएका छैनन् भने लहेरा स्वयम् अधिकांश समय कार्यालयमा अनुपस्थित रहने र ढिलो गरी आउने गरेको गुनासो सेवाग्राहीको छ।

पछिल्लो समय नियमित प्रशासकीय अधिकृत लहेरा पालिकाको जिम्मेवारी स्वास्थ्य शाखा प्रमुख विजय ठाकुरलाई सुम्पिएर भारत भ्रमणमा निस्किएका छन् भने ठाकुरले नगर प्रमुख किशोरी प्रसाद कलवारको निर्देशनमा सामाजिक विकास शाखा प्रमुख नन्दकिशोर साहलाई हटाई सातौँ तहका कर्मचारी जितेन्द्र यादवलाई सो जिम्मेवारी दिएपछि कर्मचारी वृत्तमा तीव्र विवाद र द्वन्द्व सिर्जना भएको छ।

आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन दुई महिना मात्र बाँकी छँदा गरिएको यस अपारदर्शी जिम्मेवारी हेरफेर र नयाँ उपसचिवको  अनुपस्थितिले पालिकामा आर्थिक चलखेल र अनियमितताको आशंकालाई बल पुर्‍याएको छ।

यस विषयमा नगर प्रमुख कलवारसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् भने नगर प्रमुख र निमित्त प्रमुख लहेराबीच आर्थिक भुक्तानीको विषयलाई लिएर समेत मतभेद बढ्दै गएको स्रोतले जनाएको छ।स्मरणरहाेस लहेरा कटहरिया नगरपालिकामा निमित हुुदा उनीमाथि अनियमितताकाे आराेप लागेकाे छ । लहेराले कम समयमा आकर्षक सम्पति जाेडेका उनका समकक्षीले बताउने गरेका छन ।

प्रतिक्रिया
शेयर