चितवनमा भारतीय गाडीबाट झण्डै एक क्विन्टल गाँजा बरामद, एक पक्राउ

छानबिन न्यूज
पाठक संख्या 49
1 Min Read
Oplus_16908288

१० बैसाख,चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विशेष सूचनाका आधारमा भरतपुर महानगरपालिका–१९, चौकी डाँडाबाट झण्डै एक क्विन्टल गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

बिहीबार बिहान करिब १:३० बजेको समयमा खटिएको प्रहरी टोलीले BR 01 PE 6943 नम्बरको भारतीय पिकअप गाडीलाई रोकेर खानतलासी गर्दा सिट मुनि बनाइएको ‘फल्स बटम’ (विशेष ठाउँ) मा लुकाएर राखिएको ३० प्याकेट गाँजा फेला पारेको थियो। बरामद गरिएको ९५ किलो ९६५ ग्राम गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा चितवनको कालिका नगरपालिका–३, पदमपुरका २७ वर्षीय देवचन्द्र स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल बजार मूल्य ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ बराबरको रहेको छ।

प्रहरीले गाँजा र गाडी दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाउनुका साथै यस घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिहरूको समेत खोजी कार्य जारी राखेको छ।

प्रतिक्रिया
शेयर