२६ चैत,बारा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको निर्वाचनबाट नेपालको संसदीय इतिहासमै अभूतपूर्व रूपमा युवा वर्गको प्रतिनिधित्वसहितको सदन गठन भई नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको बताएका छन ।
संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश प्रवाह भएको उल्लेख गरेका छन ।
राष्ट्रपति पौडेलका अनुसार पटक–पटकका जनआन्दोलन र युवा पुस्ताको पछिल्लो सङ्घर्षमार्फत जनताले उत्तरदायी शासन, प्रभावकारी सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासन, र मुलुकभित्रै रोजगारीका अवसरजस्ता विकास र स्थिरताको आकाङ्क्षा राखेका छन्।
यी जनचाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै निर्मित कानुनको मर्म अनुरूप सरकारले प्रभावकारी कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताए।
साथै, न्यायपालिकाबाट छिटो–छरितो र निष्पक्ष न्याय सम्पादन हुन सके मात्र परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति सच्चा सम्मान हुने बताए ।
