२७ चैत,काठमाण्डाैं । इरानसँग निकट मानिएको ‘हन्डाला’ नामक ह्याकर समूहले इजरायली रक्षा बल (आईडीएफ) का पूर्वप्रमुख हर्जी हलेभीको फोन र विद्युतीय उपकरणहरू ह्याक गरी उनको निजी तथा व्यावसायिक जीवनका १९ हजारभन्दा बढी तस्बिर र भिडियोहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गर्दै केही सामग्रीहरू सार्वजनिक गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार वर्षौँदेखि हलेभीको प्रणालीमा ‘अदृश्य रूपमा’ पहुँच बनाएको दाबी गर्ने यस समूहले सार्वजनिक गरेका दृश्यहरूमा हलेभीले सैन्य अड्डाको भ्रमण गरेको, कार्यालयमा व्यायाम गरेको, र परिवारका सदस्यहरूसँग समय बिताएका तस्बिरहरूका साथै उनी र उनकी श्रीमतीको परिचयपत्र समेत समावेश छन्।
विशेष गरी, यसअघि गोप्य राखिएका उच्चस्तरीय कूटनीतिक भेटघाटहरू—जस्तै जोर्डनका समकक्षी मेजर जनरल युसेफ हुनेइतीलाई सन् १९६७ को युद्धको ऐतिहासिक खुकुरी हस्तान्तरण गरेको भिडियो र कतारमा पूर्वअमेरिकी सेन्ट्रल कमाण्ड प्रमुख माइकल कुरिल्लासँगको भेट—सार्वजनिक भएपछि इजरायलको सुरक्षा र सूचना संयन्त्रमाथि ठुलो प्रश्नचिह्न खडा भएको छ।
