चितवनमा गैँडाको आक्रमणबाट सिपाही गम्भीर घाइते, आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 24
1 Min Read
Oplus_16908288

२७ चैत,बारा । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर पर निकुञ्जको कोर क्षेत्रमा गस्तीमा रहेका सुरक्षाकर्मी र बच्चासहितको माउ गैँडाबीच जम्काभेट हुँदा एक सिपाही गम्भीर घाइते भएका छन् ।

 आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु भएको छ।

आज दिउँसो १२:५० बजे नयाँ गोरख गण अन्तर्गत सेरी सुरक्षा पोष्टबाट पैदल गस्तीमा निस्किएका चार सुरक्षाकर्मीमध्ये विकास घर्तीलाई अर्धवयस्क बच्चासहितको आमा गैँडाले एक्कासी आक्रमण गरेको थियो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, टोलीले सुरुमा उम्किने प्रयास गर्दै १० राउण्ड हवाई फायर गरे तापनि गैँडाले लखेट्न नछाडी घर्तीलाई लछारपछार पार्न थालेपछि साथीको ज्यान बचाउन थप दुई राउण्ड गोली गैँडालाई प्रहार गरिएको थियो।

पेटभन्दा माथिको करङ्गमा गोली लागेर अन्दाजी २४ वर्षको उक्त गैँडाको घटनास्थलमै मृत्यु भएको छ भने मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ।

ढाड र कम्मरमा गहिरो चोट लागेका घर्तीलाई उद्धार गरी काठमाडौँस्थित वीरेन्द्र अस्पताल छाउनीको सघन उपचार कक्ष (ICU) मा उपचार भइरहेको छ र निकुञ्जको टोलीले मृत गैँडाको पोस्टमार्टम समेत गरिसकेको छ।

प्रतिक्रिया
शेयर