१९ चैत,काठमा्डाैं । नेकपा (एमाले) ले संसदीय दलको नेतामा युवा नेता सुहाङ नेम्वाङलाई रोकेर उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई चयन गरेपछि सुरु भएको विवाद चुलिँदै गएको छ।
पार्टीको सो निर्णयको विरोधमा उत्रिएका एमाले सम्बद्ध युवाहरूले आज च्यासलस्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् भने हिजो मात्रै महासचिव शंकर पोखरेलको राजीनामा माग्दै उनको पुतला समेत जलाएका थिए।
‘एमाले सुधार अभियान’ सञ्चालन गरिरहेका यी युवाहरूले नेतृत्वको कार्यशैली सुध्रिनुपर्ने, जनताको बहुदलीय जनवाद (जबज) को मर्म अनुरूप पार्टी चल्नुपर्ने र बदलिँदो परिस्थिति एवं जनभावना अनुसार नेतृत्वले आफूलाई बदल्नुपर्ने माग राखेका छन्।
पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा गम्भीर त्रुटि गरेको र समयको माग बुझ्न नसकेको भन्दै युवाहरूले नेतृत्व नसच्चिए विद्रोह गर्ने चेतावनी समेत दिएका छन्, जसका कारण अहिले एमालेभित्रको आन्तरिक कलह र विरोधका स्वरहरू छताछुल्ल भइरहेका छन्।
