ओली र लेखक पक्राउ प्रकरण: कांग्रेसद्वारा राजनीतिक प्रतिशोधको आरोप, सशक्त प्रतिवाद गर्ने निर्णय

छानबिन न्यूज
पाठक संख्या 65
1 Min Read
Oplus_16908288

१४ चैत,काठमाण्डाैं । नेपाली कांग्रेसको देउवा समूहले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको घटनालाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिँदै यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार ठमेलस्थित रमादा होटलमा बसेको देउवा पक्षीय शीर्ष नेताहरूको बैठकले सरकारको यस कदमले संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर पारेको ठहर गरेको हो।

​बैठकपछि कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्णबहादुर खड्काले आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा कुनै प्रक्रिया पूरा नगरी तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको उपहास भएको बताए । विज्ञप्तिमा भनिएको छ, “सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार लोकतन्त्रबाट पछाडि हटेको देखिन्छ; यसको सामना गर्न देशभरका पार्टी कार्यकर्ताहरू तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौँ।”

​कांग्रेसले उक्त छानबिन प्रतिवेदन नै पक्षपातपूर्ण रहेको दाबी समेत गरेको छ। भाद्र २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा २४ गते भएको मानवीय क्षति, सरकारी संरचना र निजी सम्पत्तिको नोक्सानीबारे प्रतिवेदन मौन रहनुले सरकारको पूर्वाग्रह प्रष्ट पारेको खड्काको तर्क छ।

प्रतिवेदनको पेज नं ७२१ को सिफारिसलाई आधार बनाएर अनुसन्धान र अभियोजनको प्रक्रिया मिच्दै गरिएको पक्राउको विरुद्धमा कांग्रेसले अब रणनीति बनाएर अघि बढ्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया
शेयर