ईर्साद अनसारी
६ चैत,काठमाण्डाैं । अहिले काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार अपराह्नपछि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, कोशी, बागमती र मधेस प्रदेशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको हो।
विभागका प्रवक्ता विभूति पोखरेलले विशेषगरी तराईका क्षेत्रमा चल्ने हुरीको क्रम दुईदेखि तीन घण्टासम्म रहने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।
असिना पानी र हुरीका कारण मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले अनावश्यक रूपमा घर बाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन आह्वान गरेको छ।
यसैबीच, विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई वेवास्ता गर्दा क्षति बढ्ने उल्लेख गर्दै हावाहुरीको समयमा सवारीसाधन नचलाउन र रुख तथा बिजुलीको खम्बा नजिक नबस्न सुझाव दिनुभएको छ।
