३ चैत,बारा । नेपाली कांग्रेसका बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले निर्वाचनमा आफूलाई हराउन अन्तर्घात गरेको भन्दै जिल्ला सभापति राजेश राय यादवसहित ११ जनालाई १० वर्षका लागि पार्टीबाट निष्कासन गर्न केन्द्रीय अनुशासन समितिमा लिखित उजुरी दिएका छन् ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा ११ हजार ८३७ मत ल्याएर तेस्रो स्थानमा खुम्चिएका भैयारामले जिल्ला सभापति राजेश राय, उनका बुवा पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, र विभिन्न तहका क्षेत्रीय तथा स्थानीय सभापतिहरूले विपक्षीसँग तालमेल गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका हुन् ।
बारा क्षेत्र नम्बर-३ बाट ३५ हजार ५९० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका चन्दनकुमार सिंह विजयी भइरहँदा, भैयारामले भने क्षेत्रीय सभापति रामप्रवेश यादव, हरिलाल प्रसाद यादव र विभिन्न गाउँपालिका तथा वडाका सभापतिहरूलाई साधारण सदस्य समेत नरहने गरी कडा कारबाहीको माग गरेका छन्।
स्मरणीय छ कि यसअघि नै बारा–३ को क्षेत्रीय कार्यसमितिले पनि सभापति राजेश रायसहित १६ जनालाई अन्तर्घातको आरोपमा कारबाहीका लागि सिफारिस गरिसकेको छ ।
