ईर्साद अन्सारी
२ चैत,काठमाण्डाैं । नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग जोडदार माग गरेको छ।
महासंघका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको यो भारी मूल्यवृद्धिले व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष मार परेको र सेवा सञ्चालन गर्न कठिन भएको उल्लेख गर्नुभएको छ।
विज्ञप्तिमा जनाइए अनुसार, पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट समायोजन हुनुपर्ने भए पनि २०८१/९/२२ गतेदेखि भाडा समायोजन नभएकाले हालको उच्च मूल्यवृद्धिका कारण वैज्ञानिक विधिको आधारमा भाडा बढाउन आवश्यक रहेको महासंघको ठहर छ।
तसर्थ, सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानी संघीय र सातै प्रदेशका रुटहरूको भाडा यथाशीघ्र समायोजन गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
