स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रमै आधारित हुने: डिजिटल प्रणालीका लागि बोर्ड र विभागबीच सम्झौता

छानबिन न्यूज
पाठक संख्या 110
1 Min Read
Oplus_16908288

२ चैत,काठमाण्डाैं । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउन स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग महत्वपूर्ण सहकार्य सुरु गरेको छ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेल र विभागका महानिर्देशक नमराज घिमिरेबीच भएको समझदारी अनुसार अब स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाइनेछ।

यस सहकार्यपछि बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने तयारी भइरहेको छ भने चैत २५ गतेभित्र नयाँ दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गर्ने लक्ष्य राखिएको छ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, हाल करिब एक करोड नागरिक आबद्ध रहेको यस कार्यक्रममा म्यानुअल प्रणालीका कारण देखिने गरेका विवरण दोहोरिने, उमेर नमिल्ने र कार्डको दुरुपयोग हुने जस्ता समस्याहरू एनआईडीको डाटाबेससँगको आबद्धतापछि समाधान हुनेछन्।

डिजिटल प्रणाली विस्तार भएपछि सेवाग्राहीले स्वयं अनलाइनबाटै दर्ता र नवीकरण गर्न पाउनेछन् भने भविष्यमा अस्पतालहरूमा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गरिनेछ, जसले गर्दा सेवाग्राहीले झन्झटरहित र छिटो छरितो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
शेयर