२० फागुन,काठमाण्डाैं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ।
बैठकमा देशको वर्तमान सुरक्षा अवस्था, बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको तयारी र सम्भावित सुरक्षा चुनौतीहरूबारे विस्तृत छलफल गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा निर्वाचन स्थलगत सुरक्षा व्यवस्थापन, मतदान केन्द्रको सुरक्षा र आवश्यक सरकारी समन्वयबारे समीक्षा गरिएको थियो।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, परराष्ट्र मन्त्री बालानन्द शर्मा, वन मन्त्री माधव चौलागाईं, प्रधान सेनापति अशोक सिग्देल र मुख्य सचिव सुमनराज अर्यालको सहभागिता रहेको थियो।
बैठकका क्रममा मन्त्री तथा वरिष्ठ सुरक्षाकर्मीहरूले निर्वाचनको दौरान शान्ति, सुव्यवस्था र आम जनताको सुरक्षामा जोड दिँदै सुरक्षा निकायबीचको समन्वयलाई अझ सुदृढ गर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री कार्कीले सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै निर्वाचन प्रक्रियालाई सहज, निष्पक्ष र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
