ईर्साद अन्सारी
१४ फागुन,काठमाण्डाैं । आगामी फागुन २१ गते बिहान ७ बजेदेखि हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले विशेष सुरक्षा योजना लागू गरेको छ,जसअन्तर्गत मतदानको सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम गठित समितिको निर्णयअनुसार फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध (मौन अवधि) हुने भएकाले सो अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइसकेको छ ।
निर्वाचन आचारसंहिता २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ बमोजिम निषेध गरिएका कार्यहरू भए गरेको पाइएमा तत्काल कानुनी कारबाही गरिने निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, मतदानको दिन फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान नसकिउन्जेलसम्मका लागि पास प्राप्त सवारीसाधन, कूटनीतिक नियोग र अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, शव वाहन, विद्युत्, खानेपानी तथा दूरसञ्चार मर्मतका साधनबाहेक अन्य सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
