१२ फागुन,ईटहरी । रास्वपा सभापति रवि लामिछानेले इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चुनाव सार्ने चर्चाको खण्डन गर्दै बरु ४ दिन अगावै निर्वाचन गर्न चुनौती दिएका छन्।
लोकतन्त्र जोगाउन जनता सचेत रहेको उल्लेख गर्दै उनले विधि र थिति बसाल्न रास्वपा आएकाले कर्मचारी र शिक्षकहरूलाई नतर्सिन आग्रह गरे।
उनले ४६ सालपछिका सबै काण्डको छानबिन हुने र कसैप्रति प्रतिशोध नभई हिसाबकिताब गरिने स्पष्ट पार्दै रास्वपाको सरकार बनेको १०० दिनभित्र सहकारीका साना बचतकर्ताको पैसा फिर्ता गर्न सुरु गर्ने उद्घोष गरे।
सुकुम्बासी बस्तीमा डोजर चल्छ भन्ने भ्रम फैलाइएको बताउँदै उनले डोजर गरिबको झुपडीमा नभई सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्ने दाबी गरे भने शिक्षकहरूलाई राजनीतिको चिन्ता छाडेर विद्यार्थीको भविष्य र स्मार्ट क्लासरुम निर्माणमा केन्द्रित हुन आग्रह गरे।
