ईर्साद अन्सारी
८ फागुन,काठमाणडाैं । एक दशकभन्दा बढी समयदेखि राजसंस्था पुनःस्थापनाको अभियानमा सक्रिय भक्तपुर क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार आनन्द कार्की (राजीव) ले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिने र निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन्।
पूर्वराजाले सहमतिको प्रक्रियाबाट मात्र निर्वाचनमा जानुपर्ने मनसाय व्यक्त गरेको भन्दै कार्कीले उक्त भावनाको सम्मानस्वरूप निर्वाचन आयोगलाई पत्र पठाएर आफ्नो उम्मेदवारी त्यागेको घोषणा गरेका हुन्।
२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट ८२ मत प्राप्त गरेका ४१ वर्षीय कार्कीले सामाजिक सञ्जालमार्फत राप्रपाप्रति कटाक्ष गर्दै आफू राजाको आदेश मान्ने निर्दलीय उम्मेदवार भएको दाबी गरेका छन्। आफ्नो मुख्य एजेन्डा राजतन्त्रकै पुनःस्थापना रहेको उल्लेख गर्दै उनले ‘श्री ५’ को मनसायलाई समर्थन गर्न निर्वाचन बहिष्कार गरेको स्वघोषणा समेत गरेका छन्।
