४ फागुन,बारा । नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडामाथि सोमबार साँझ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८, बडहर्वा चोकमा स्थानीय श्रवण लामा (संग्राम) ले अभद्र व्यवहार तथा गालीगलौज गरेका छन्।
कलैया-पिलुवा सडक खण्डमा नियमविपरीत जबरजस्ती कर संकलन गर्ने गरेका लामाले गत वर्ष एक सवारी चालकलाई गरेको दुर्व्यवहारको भिडियो खिचेको झोकमा मदिरा सेवन गरी बजार आएका खतिवडालाई एक्कासि अश्लील गालीगलौज गर्दै हेल्मेट प्रहारको प्रयास गरेका हुन्।
अवैध असुली, गुण्डागर्दी, वन तस्करी तथा लागुपदार्थ कारोबार जस्ता आपराधिक गतिविधिमा संलग्न भई पटक-पटक कारबाही भोगिसकेका र बलात्कार जस्तो जघन्य अपराधको मुद्दा समेत आर्थिक प्रलोभनमा पारी ढाकछोप गरेका लामाको अराजकताबाट स्थानीयवासी आजित बनेका छन्।
सार्वजनिक स्थलमा महिला र बालबालिकाको समेत प्रवाह नगरी उच्छृङ्खल व्यवहार प्रदर्शन गर्ने लामालाई प्रहरी चौकी जैतापुरले नियन्त्रणमा लिएर सामान्य सोधपुछपछि छाडेको भन्दै नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीले आपत्ति जनाउनुभएको छ।
अध्यक्ष सुवेदीले एक विज्ञप्ति जारी गर्दै समाजमा नकारात्मक प्रभाव फैलाउने र सञ्चारकर्मीको सुरक्षामा चुनौती थप्ने लामालाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग जोडदार माग गर्नुभएको छ।
