ईर्साद अन्सारी
१५ माघ,बारा । बाराको परवानीपुर गाउँपालिका-१ रहरिया डिहमा माघ १४ गते राति भएको विभत्स हत्याकाण्डको सनसनीपूर्ण रहस्य पर्दाफास गर्दै प्रहरीले मृतककै श्रीमतीसहित दुई जना मुख्य योजनाकारलाई पक्राउ गरेको छ।
मध्यरात करिब २:०० बजे ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतिरहेका परिवारका सदस्यहरूमाथि धारिलो हतियार (चक्कु) प्रहार हुँदा ३१ वर्षीय राम ईश्वर मण्डल र ४६ वर्षीया सुमित्रा मण्डलको घटनास्थलमै बीभत्स मृत्यु भएको थियो भने जगरुप मण्डल र उनकी छोरी रिना कुमारी गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले सूक्ष्म अनुसन्धान गर्दा यो कुनै बाहिरी आक्रमण नभई मृतक राम ईश्वरकी आफ्नै २३ वर्षीया श्रीमती मनिता देवी मण्डल र उनका प्रेमी प्रसौनी गाउँपालिका-७ का २७ वर्षीय धर्मेन्द्र महतो धानुकको पूर्वयोजनाबद्ध षड्यन्त्र रहेको खुलेको छ।
युएईमा वैदेशिक रोजगारीमा रहेका धर्मेन्द्र माघ ११ गते नेपाल आएर घरमा कसैलाई जानकारी नै नदिई सिधै मनितासँग मिलेर हत्याको योजना बुन्न लागेको र विवाहेत्तर सम्बन्ध लुकाउनकै लागि यो जघन्य अपराध गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले मनितालाई उपचारकै क्रममा अस्पतालबाट र हत्या गरी भारततर्फ भाग्दै गरेका धर्मेन्द्रलाई विश्रामपुर-४ मुसहर्वाबाट नियन्त्रणमा लिई ज्यान सम्बन्धी कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाएको प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन ।
