२९ माघ,काठमाण्डाैं । मुम्बईस्थित वानखेडे मैदानमा भएको टी–२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटको भारी अन्तरले पराजित भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट हुन पुग्यो, जसमा आरिफ शेखले २७ र कप्तान रोहित पौडेलले २३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
१२४ रनको सामान्य लक्ष्य पछ्याएको इटालीले आक्रामक ब्याटिङ गर्दै मात्र १२.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्यो; इटालीका लागि जस्टिन मोस्काले अविजित ६० र एन्थोनी मोस्काले ६२ रनको सानदार योगदान दिए ।
पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डलाई कडा टक्कर दिएर ४ रनले मात्र चुकेको नेपाल आजको खेलमा भने पूर्णतः निरिह देखियो भने बलिङमा कुनै पनि नेपाली बलरले विकेट लिन सकेनन् ।
लगातार दोस्रो हारसँगै नेपालको ‘सुपर एट’ पुग्ने सम्भावना निकै कठिन बनेको छ भने विश्वकपमा डेब्यु गरिरहेको इटालीले नेपाललाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
