१४ माघ,बारा । बाराको परवानीपुर गाउँपालिकामा आज बिहान करिब ३ बजे अज्ञात समूहले घरभित्रै पसेर धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतक रामेश्वरकी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पंडितका अनुसार सोही आक्रमणमा ५२ वर्षीय जगरुप मण्डल र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भई हाल परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचाररत छन्।
घटनाको प्रकृति शंकास्पद देखिएकाले बुहारी मनितालाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरिएको छ भने हत्याको वास्तविक कारण र संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि प्रहरीले तालिम प्राप्त कुकुरकाे सहयाेगमा अनुसन्धानलाई तीव्र पारेको छ।
