२७ पुस,काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा आयोजना गरिएको पार्टीको विशेष महाधिवेशन आज दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ।
५० जना अतिथि अटाउने गरी भव्य मञ्च र ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको महाधिवेशनस्थलमा बिहान ८ बजेदेखि नै परिचयपत्र, फोटो र दर्ता शुल्कसहित प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया सुरु भइसकेको छ।
काठमाडौँका विभिन्न स्थानमा ३ हजार ६ सयभन्दा बढी प्रतिनिधिको आवास र खानाको प्रबन्ध मिलाइएको यस कार्यक्रममा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन।
विशेष महाधिवेशनको बन्दसत्रमा देशभरबाट आएका बहुमत प्रतिनिधिहरूले नेतृत्व परिवर्तनको चर्को दबाब दिने सम्भावना रहे पनि महामन्त्रीद्वयले भने पार्टी विभाजनको जोखिमलाई मध्यनजर गर्दै संकल्प प्रस्ताव पारित गरेर कार्यक्रम समापन गर्ने रणनीति बनाएका छन्।
