प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३४ हजार म्यादी प्रहरीको भर्ना खुल्यो: १८ देखि ५४ वर्षसम्मकाले आवेदन दिन पाउने

छानबिन न्यूज
पाठक संख्या 75
1 Min Read

ईर्साद अन्सारी

२४ पुस,काठमाण्डाैं ।  नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै देशभरबाट १ लाख ३३ हजार ९८० जना ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी) को भर्ना आह्वान गरेको छ ।

इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि ९ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर, भक्तपुर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयमा बिहान १० देखि अपराह्न ४ बजेसम्म आवेदन दिन सक्नेछन्, जसमा सार्वजनिक बिदाका दिन पनि दरखास्त लिइने व्यवस्था गरिएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपमा स्वस्थ र कुनै फौजदारी अभियोग नलागेका व्यक्तिहरू यसका लागि योग्य मानिनेछन् । पुरुषको हकमा न्यूनतम उचाइ ५ फिट ३ इन्च, छाती ३१-३३ इन्च र तौल ५० केजी हुनुपर्नेछ भने महिलाको हकमा ४ फिट १० इन्च उचाइ र ४२ केजी तौलको मापदण्ड तोकिएको छ ।

पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक र यसअघि म्यादी प्रहरीमा काम गरिसकेकाहरूलाई छनोटमा प्राथमिकता दिइनेछ । छनोट प्रक्रिया माघ ५ बाट सुरु भई १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ भने सफल उम्मेदवारलाई माघ १५ देखि २४ गतेसम्म तालिम दिएर अधिकतम ४० दिनका लागि कार्यक्षेत्रमा खटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
शेयर