११ असार,बारा । बलात्कार मुद्दामा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका एक व्यक्तिले आफ्नै मुद्दाका अनुसन्धान अधिकृत र अन्य प्रहरी अधिकारीहरूसँगै प्रहरी कार्यालय परिसरभित्रै ‘बर्थडे’ मनाएको घटनाले मधेस प्रदेशको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको छ। यो घटनाले हालै मधेस प्रदेशमा सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक (DIG) उमा चतुर्वेदीको भूमिकामाथि पनि शंका उत्पन्न भएको छ।
* घटनाको विवरण:
गत जेठ ४ गते जिल्ला अदालत सप्तरीबाट बलात्कार मुद्दामा सफाइ पाएका आकाश आदर्श (सुन्तला रङको टिसर्ट लगाएका) ले सफाइ पाएको भोलिपल्टै आफ्नो मुद्दाका अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक मनीष श्रेष्ठ (मैनबत्ती बोकेका) को ‘बर्थडे’ मनाएका थिए। यो पार्टी सिरहा प्रहरी कार्यालय परिसरभित्रै, प्रहरी नायब उपरीक्षक (DSP) जितेन्द्रकुमार बस्नेत (सेतो टिसर्ट लगाएका) को क्वार्टरमा सरकारि निवाशमा भएको थियो। पार्टीमा मोबाइलबाट फोटो खिच्ने व्यक्ति पनि जिल्ला प्रहरी कार्यालयकै इन्स्पेक्टर उदयकुमार राई भएको खुलेको छ।
बलात्कारजस्तो संवेदनशील मुद्दामा सफाइ पाएको व्यक्तिले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूसँगै प्रहरी कार्यालयभित्रै भोज आयोजना गर्नुले न्याय प्रणालीको निष्पक्षता र प्रहरीको व्यावसायिकतामाथि गम्भीर प्रश्न उब्जाएको छ। पीडित पक्षले माथिल्ला दुई तहका अदालतमा जान सक्ने प्रावधान कायमै रहेका बेला यस्तो घटना हुनुले पीडितलाई थप मानसिक तनाव दिने र न्यायमाथि विश्वास घटाउने देखिन्छ।
* DIG उमा चतुर्वेदीको भूमिकामाथि प्रश्न:
मधेस प्रदेशमा हालै सरुवा भई आएका DIG उमा चतुर्वेदीको आगमनसँगै प्रदेशको सुरक्षा व्यवस्था र अपराध नियन्त्रणमा विभिन्न चुनौतीहरू देखिएका छन्। उनको नेतृत्वमा मधेस प्रदेशका आठवटै जिल्लामा तस्करी मौलाएको, सिरहाका प्रहरी उपरीक्षक (SP) ढकेन्द्र खतिवडामाथि आर्थिक लेनदेनको आरोप लागेको र पछिल्लो पटक प्रहरी कार्यालयभित्रै भएको यो ‘बर्थडे’ पार्टीको घटनाले उनको क्षमतामाथि प्रश्नचिन्ह खडा गरेको छ।
यी घटनाक्रमले DIG चतुर्वेदी मधेस प्रदेशको सुरक्षा र तस्करी नियन्त्रणमा असक्षम हुने हुन् कि भन्ने चर्चा चुलिएको छ। एकातर्फ तस्करीको जालो फैलिँदै जानु र अर्कोतर्फ प्रहरी अधिकारीहरूकै संलग्नतामा विवादास्पद गतिविधि हुनुले समग्र प्रहरी प्रशासनको छवि धमिलिएको छ।
* छानबिनको माग:
यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ। प्रहरी कार्यालयभित्रै भएको यो घटनाले सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास घट्ने खतरा बढेको छ। यस विषयमा तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण हुनु जरूरी छ।
प्रतिक्रिया दिनुहोस् !