२३ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारको आवरणमा सरकारी कर्मचारीहरूलाई धम्क्याउने र रकम असुल्ने गरेको आरोपमा रामेछापका एक कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले रामेछापको मन्थली नगर विकास समितिमा अस्थायी नासु पदमा कार्यरत टिकाप्रसाद भट्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
साउन २०४९ सालदेखि अस्थायी खरिदारमा कार्यरत भट्टले लगत्तै अनिश्चितकालीन म्याद थप गरी कैयौं निकायबाट एकसाथ लाभ लिएको अख्तियारको आरोप छ।
कान्तिपुर दैनिकको पूर्णकालीन पत्रकार भएर त्यहाँबाट नियमित पारिश्रमिक तथा तलब लिनुका साथै नगर विकास समिति लगायत अन्य निकायबाट पनि पारिश्रमिक लिएको अख्तियारको आरोप छ।
कर्मचारीको परिचय लुकाई पत्रकारको हैसियतले विभिन्न कार्यालयहरूबाट काज/भ्रमण तथा बैठक भत्ता लिएको भन्दै अख्तियारले त्यसलाई गैरकानुनी लाभ भनेको छ।
अख्तियारको आरोपअनुसार, उनी मन्थली बचत तथा ऋण सहकारी, रामेछाप, मिडाड नेपाल नामक विज्ञापन एजेन्सी लगायतमा पनि कार्यरत थिए। अख्तियारले उनीमाथि २०४९ सालदेखि अहिलेसम्म एक करोड १५ लाख रुपैयाँ गैरकानुनी लाभ लिएको आरोप लगाएको छ।
अख्तियारले उनलाई कमिसन दिई भ्रष्टाचार गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण आयोजनाका तत्कालीन प्रमुखहरू अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, लेखा प्रमुख यमलाल बेल्वासे, सुरेश दाहाल लगायतमाथि पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिक्रिया दिनुहोस् !