कोल्हवीका सामुदायिक विद्यालयको एसईई नतिजा निराशाजनक: जनप्रतिनिधि र शिक्षकमाथि गम्भीर प्रश्न

छानबिन न्यूज
पाठक संख्या 111
1 Min Read

२९ बैसाख,बारा ।  बाराको कोल्हवी नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको यस वर्षको एसईई नतिजा अत्यन्तै कमजोर देखिएपछि स्थानीय स्तरमा शिक्षाको गुणस्तर र विद्यालय व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।

नगरपालिकाभरिका ९ वटा माध्यमिक विद्यालयबाट परीक्षामा सम्मिलित ४३६ विद्यार्थीमध्ये केवल १३७ जना अर्थात् मात्र ३१ प्रतिशत उत्तीर्ण हुनुले नगरको शैक्षिक अवस्था चिन्ताजनक रहेको पुष्टि गर्छ, जसमा ककडी पसौनास्थित जनता माध्यमिक विद्यालयको अवस्था सबैभन्दा दयनीय देखियो जहाँ ६१ परीक्षार्थीमध्ये मात्र ४ जना सफल भए भने अनुप दीपनी माविका ७७ मध्ये ८ जना र नेपाल राष्ट्रिय मावि नयाँबस्तीका २० मध्ये ४ जना मात्र उत्तीर्ण हुन सकेका छन् ।

स्थानीय अभिभावक र सरोकारवालाहरूले नगर प्रमुख राम प्रसाद चौधरीका भाषण व्यवहारमा लागू नभएको, शिक्षकहरू शिक्षण सिकाइभन्दा पनि राजनीति र टिकटक जस्ता सामाजिक सञ्जालमा बढी केन्द्रित भएको, र विद्यालय प्रशासनमा पारदर्शिता तथा जवाफदेहिताको चरम अभाव रहेको आरोप लगाएका छन् ।

विशेषगरी प्रधानाध्यापकहरूको घमण्ड, अभिभावकसँगको समन्वयमा कमी र पत्रकारहरूप्रतिको असहिष्णु व्यवहारले शैक्षिक वातावरण बिग्रिएको गुनासो व्याप्त छ भने सामुदायिकको तुलनामा निजी विद्यालयहरू (हिमचुली बोर्डिङ १००% र न्यु गेलर्ड ८४%) को नतिजा उत्साहजनक आउनुले सरकारी लगानी र शिक्षकको उत्तरदायित्वमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ ।

स्थानीय तहमा यस्तो निराशाजनक नतिजा सार्वजनिक भएपछि अब शिक्षा सुधारका लागि गम्भीर बहस र ठोस कदमको आवश्यकता टड्कारो देखिएको छ ।

प्रतिक्रिया
शेयर